दफा २६
मुद्दा मामिलामा प्राथमिकता
(१) नेपाली सेनामा कार्यरत कुनै व्यक्ति पक्ष भई कुनै अड्डा अदालतमा दायर रहेको मुद्दा सुनुवाइको क्रममा आफ्नो विदा स्वीकृत गर्ने अधिकारीबाट सो प्रयोजनको लागि विदा स्वीकृत गराई उपस्थित भएको रहेछ भने निजले विदाको अवधिभित्र मुद्दाको किनारा गर्न विदा स्वीकृत भएको पत्र र मुद्दाको विवरण समेत संलग्न गरी निवेदन दिएमा सम्बन्धित अड्डा अदालतले पनि विदाको अवधिभित्रै त्यस्तो मुद्दाको किनारा गरिदिन प्राथमिकताको क्रममा राखिदिनु पर्नेछ ।
(२) उपदफा (१) अन्तर्गत दिइने निवेदन बापत दस्तुर लाग्ने छैन ।
(३) विदाको अवधिभित्र मुद्दाको किनारा हुन नसक्ने भएमा अड्डा अदालतले सोही व्यहोराको जानकारी दिनु पर्नेछ ।
(४) विदा स्वीकृत गर्ने अधिकारीको विषयमा प्रश्न उठेमा पृतनापति वा वाहिनीपति वा सो सरहका अधिकारीको निर्णय अन्तिम हुनेछ ।